समाचार

चिसोले घर बाहिर निस्कन नमान्नेहरु राष्ट्रिय एकता दिवसमा उर्लिए

लुम्बिनी । हप्ता दिनदेखिको चिसोले तराईको जनजीवन पूर्णतया प्रभावित भएको छ । मान्छे बाध्यातत्मक अवस्थामा मात्रै घर बाहिर निस्केका छन् । तर, राष्ट्र र राष्ट्रियता भन्ने विषय यस्तो हुँदोरहेछ कि उनीहरुलाई प्रतिकूल मौसमले कुनै प्रभाव नपार्दोरहेनछ । यस्तै भएको छ, आज बिहान रुपन्देही सदरमुकाम भैरहवामा ।

खाना पकाउने, बालबालिका स्कुल पठाउने समय थियो । करिव ९ः३० बज्नै आँटेको थियो तर पुरुषभन्दा महिला धेरै सहभागी भएको ¥याली कुनै नाराबाजी नगरी मौनतापूर्वक बुद्धचोकदेखि विद्रोही चोकतर्फ गइरहेको थियो । उक्त ¥यालीमा सहभागी सबैको हातहातमा चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा थियो । केहीबेरमा ¥याली विद्रोही चोकमा पुग्यो । विद्रोही चोक जहाँ शाहवंशीय राजा ज्ञानेन्द्र शाहको सरकारको विरुद्धमा आन्दोलन गर्दा राखिएको नाम हो । सोही चोकमा शाह खलकका एक राजा पृथ्वीनारयण शाहको ठूलो तस्वीर राखिएको थियो । उक्त ¥यालीमा सहभागीले तस्वीरमा माल्यापर्ण गरे र कार्यक्रमको औपचारिकतामा सहभागी भए ।

त्यो नेपाल–भारत सीमा क्षेत्रदेखि करिव तीन किलोमिटरको दूरीमा रहेको विद्रोही चोकमा आयोजित राष्ट्रिय एकता दिवसको दृश्य हो । उक्त कार्यक्रममा हिजो ज्ञानेन्द्र शाह नेतृत्वको सरकारको विरुद्धमा आन्दोलनको नेतृत्व गरेका नेकपाका नेता भरतकुमार पोखरेल, नेपाली काँग्रेसका नेता दीपक क्षेत्री न्यौपाने, विजय शर्मासहितका नेता सहभागी थिए । कार्यक्रममा संस्कृति तथा इतिहासवीद्को बाक्लो उपस्थिति देखिन्थ्यो ।

संस्कृतिविद् प्राध्यापक डा. गीतु गिरीले कुनै पनि वंश स्वभावलै नराम्रो नहुने बताउँदै एकाध जनाले गरेको गल्तीलाई लिएर पूरै वंशको विरोध गर्नु गलत संस्कार भएको बताइन । उनले भने “अहिले सङ्घीय लोकतान्त्रिक पद्धतिमा शाह वंश भन्नेबित्तिकै एलर्जी मान्ने चलन छ । यो गलत हो । हरेक वंश र व्यवस्थामा कोही गलत हुन्छ तर सबैलाई एउटै डालोमा राखेर मूल्याङ्कन गर्न मिल्दैन । त्यतिबेला पृथ्वीनारायणले राज्य एकीकरण नगरेको भए अहिले हामी गर्वले नेपाली भन्न सक्ने थिएनौँ । हामीले समयसापेक्ष मूल्याङ्कन गर्नुपर्दछ ।”

लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान विभाग प्रमुखसमेत रहेकी डा. गिरीले टुक्रे राज्यको एकीकरण गरेर तत्कालीन समयमा पृथ्वीनारयण शाहले गरेको नेपाल एकीकरणले नै नेपाल राज्य भएको तर्क गरिन् । सभालाई सम्बोधन गर्दै नेकपाका नेतासमेत रहेका भरतकुमार पोखरेलले मुलुकको माटोले डो¥याउँदै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा स्वतः स्फूर्तरुपमा भएको सहभागिताले आफूलाई खुशी बनाएको बताए ।

पृथ्वी पार्क निर्माण समिति सहसंयोजकसमेत रहेका पोखरेलले बुद्धको देश, सगरमाथाको देश भनेर परिचित गराउने पृथ्वीनारायण शाह भएको बताउँदै भने, “पृथ्वीनारयण राजा मात्र होइन महान् प्रजातान्त्रिक योद्धा पनि हुन् । मुलुकको सबैभन्दा चर्काे समस्या भ्रष्ट्रचार हो । यो कुरा उनले त्यति बेला नै नेपाल एकीकरणकै बेला भन्नुभएको थियो । उहाँले त्यतिबेला नै भ्रष्ट्रचार गर्नेको ज्यान हरण गरे पनि पाप लाग्दैन भनेका छन् । जनता जोसँग राजी हुन्छ उसैलाई काजी बनाइदिनु भनेका थिए । यसैले पृथ्वीनारायण शाह सबै कोणबाट सबैका साझा हुन् । नेपाल राष्ट्रका निर्माता हुन् ।”

इतिहासविद् विजय सागरले ‘पृथ्वीनारायण शाहले ५४ वटा राज्यलाई एकीकृत गरेर चन्द्र सूर्य झण्डा नर्फफराएको भए नेपाल र नेपाली भन्ने बाटो हुँदैन्थ्यो’ भने । नेपाली काँग्रेसका नेता दीपक क्षेत्री न्यौपानेले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए विश्वको मानचित्रमा नेपाल भन्ने देश नभेटिने बताए । उनले जसरी भारतमा महात्मागान्धीलाई, अमेरिकामा अब्राह्म लिङ्कनलाई राष्ट्रपिता भने झैँ पृथ्वीनारायण शाहलाई राष्ट्रपिता मान्नुपर्नेमा जोड दिए ।

राप्रपाका नेता रवि रौनियारले नेपाल र नेपाली भनेर गर्वका साथ परिचय दिने अवस्था उनै पृथ्वीनारायण शाहले गरेको हुँदा सम्पूर्ण सरकारी निकायमा उनको तस्वीर राख्नुपर्ने बताए ।

समाजसेवी विजय शर्माले हिजो राज्य व्यस्थाका लागि जेलनेल भोगेकाले पनि पृथ्वीनारायण शाहको विषयमा विवाद नगरेको बताए । समाजसेवी भीमराज अधिकारीले पृथ्वीनारयण शाहकै कारण आज हामी संसारमा जहाँ गए पनि नेपाली भनेर परिचय दिने अवस्थामा रहेको बताए ।