पु.समाचार

कोरोनाबाट बच्न नेपालका मुख्यनाकामा सुरक्षाको प्रबन्ध कडाः मन्त्री डा खतिवडा

काठमाडौं । सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको आशङ्का गरिएका व्यक्तिमा ‘नेगेटिभ’ देखिएको बताए ।

उनले मुलुकभित्र कोरोना सङ्क्रमित नभएका अवस्थामा मुलुक बाहिरबाट हुन सक्ने सङ्क्रमण रोक्न अन्य मुलुकबाट आउने यात्रुलाई निगरानीमा राख्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए । “हवाई यात्रुको हकमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ‘स्क्रिनिङ’ गरिएको छ, शङ्कास्पद लागेमा क्वारेन्टाइनमा राखिएको छ”, उनले भने, “स्थलमार्गबाट आउने पर्यटकलाई ‘अनअराइभल’ भिसा नदिने निर्णय भइसकेको छ, त्यसका अतिरिक्त विभिन्न छ वटा मुख्य स्थलनाकामा सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकेका छौँ ।

नेपाल–भारतबीच नागरिकको अत्यधिक आवातजावत हुने ३७ नाकामा स्वास्थ्य टोली खटाइएको उहाँले जानकारी दिए । अन्य नाकामा पनि सरकारले थप व्यवस्था गरेको मन्त्री खतिवडाको भनाइ छ । उपप्रधानमन्त्रीको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दुई पटक बैठक बसिसकेको जानकारी दिँदै उनले समितिले आवश्यक निर्णय गर्दै आएको बताए ।

समितिको आज बसेको बैठकले कोरोना सङ्क्रमण भित्रन नदिन थप सुरक्षा अपनाइने निर्णय गरेको उनले जानकारी दिए । “खासगरी औषधिको अभाव हुन नदिनलाई मौज्दात राख्ने, आयात गर्ने, भारतले औषधि निर्यातमा लगाएको प्रतिबन्धको हकमा नेपालका लागि विशेष छुट दिन आग्रह गरिएको छ”, मन्त्री खतिवडाले भने, “अत्यावश्यक वस्तुको आपूर्ति र बजारमा कुनै प्रकारको वस्तुको कृत्रिम अभाव हुन नदिने, अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेका छौँ ।”

योजनाबद्ध काम भइरहेको छः प्रवक्ता देवकोटा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको सङ्क्रमण फैलन नदिन विश्वव्यापी मान्यतानुरुप योजनाबद्ध ढङ्गबाट काम गरिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर यसको नियन्त्रण राख्न कोशिश गरिरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । “सरकारले उच्चस्तरीय समिति बनाएको छ । त्योबाहेक स्वास्थ्य मन्त्रालयले मन्त्री र सचिवको संयोजकत्वमा समिति बनाएको छ । त्यस्तै महाशाखा प्रमुखको संयोजकत्वमा प्राविधिक समिति बनेको छ”, उनले भने, “तीनवटा समितिमार्फत मन्त्रालयले काम गरिरहेको छ ।”

कोरोना नियन्त्रण गर्ने मुख्य उद्देश्य स्वास्थ्य मन्त्रालयले लिएको उनको भनाइ छ । “कोरोना भाइरस देशभित्र उत्पत्ति नभएका हुनाले यसको मुख्य असर हाम्रो मुलुकमा छैन । बाहिर छ, बाहिरबाट आउनलाई कसरी रोकथाम गर्ने भन्ने हाम्रो प्रमुख ध्यान त्यसतर्फ केन्द्रित छ”, उनले भने ।

औषधिलगायत स्वास्थ्य उपकरणको अभाव हुन नदिने विषयमा अन्य मन्त्रालय र निकायसँग छलफल भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए । “आवश्यक संयोजन मिलाउने विषयमा हामी जुटिरहेका छौँ । कोरोना भित्रन नदिन, भित्रिएमा रोकथाम गर्न र औषधिजन्य वस्तुको अभाव हुन नदिने संयोजनकारी ढङ्गले सरकारले कदम चालेको छ”, उनले भने ।

सरकारले सङ्क्रमण फैलन नदिन त्रिवि अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनलमा बाह्य मुलुकबाट आउने यात्रुको शारीरिक परीक्षण गर्ने, शङ्कास्पदलाई तुरुन्तै निगरानीमा राखेर उपचार गर्ने, अन्यलाई ‘स्क्रिनिङ’ गर्ने काम गरिरहेको छ । अन्तरराष्ट्रिय मापदण्डअनुसार थर्मल स्क्यानबाट परीक्षण गरिँदै आइएको उनले जानकारी दिए । “विमानस्थलमा स्वास्थ्य जनशक्ति पहिलेको तुलनामा दोब्बर पारेका छौँ”, उनले भने, “हरेक सिफ्टमा छ/सात जना जनशक्ति विमानस्थलमा खटिइएका छन् । रातिको समयमा चार जना बस्नुहुन्छ ।”

भारतका केही भूभागमा पनि कारोना सङ्क्रिमत देखा पर्न थालेको अवस्थालाई ध्यानमा राख्दै स्थलमार्गबाट आउने व्यक्तिमा पनि परीक्षण गर्न थालिएको उनले बताए । “अहिले सातै प्रदेशमा सातवटा टोली पठाइसकेका छौँ । आजको उच्चस्तरीय समितिको निर्णयअनुसार थप नाकामा स्वास्थ्य टोली खटाएका छौँ”, उनले भने, “केही अत्यावश्यक सामग्री जस्तैः मास्क, थर्मामिटरलगायत वन्दोबस्तीका सामग्रीसहित खटाइएको छ ।”

विमानस्थलबाट शङ्का लागेर परीक्षण गर्न ल्याइएका २६ जनामा कोरोनाको सङ्क्रमण नपाइएको उनले बताए । अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रहेका पाँच जनाको रिपोर्ट आउन बाँकी छ ।

स्वदेशमै मास्कको उत्पादन गर्ने विषयमा पनि मन्त्रालयले ध्यान दिएको उनको भनाइ थियो । “अहिले हामीले मास्क उत्पादन गर्ने कम्पनीका प्रतिनिधिलाई बोलाएर जति सक्दो छिटो मास्क उत्पादन गर्न आग्रह गरेका छौँ । भारतबाट आयात गर्ने मास्कलाई फुकुवा गर्ने कुरा पनि भइरहेको छ”, प्रवक्ता देवकोटाले भने, “ औषधि पर्याप्त रहेको छ । औषधिमा कुनै समस्या छैन । हाललाई मौज्दात छ ।”

शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल र सेना तथा प्रहरीको अस्पताललाई पहिलो श्रेणीमा राखी अस्पतालको तयारी तीव्र पारिएको उनले जानकारी दिए । “त्यसपछि उपत्यकामा रहेको हब अस्पताललाई पनि कोरोना सङ्क्रमितको उपचारका लागि तयारीको अवस्थामा राख्न अनुगमन गरिरहेका छौँ”, उनले भने, “यस्तै प्रादेशिक अस्पताललाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयसँग पनि समन्वय भइरहेको छ ।”उनले जनतामा भ्रम सिर्जना गर्ने खालका समाचार नदिन पनि सञ्चारमाध्यमलाई आग्रह गरे ।