साहित्य

“आउ साथी, संगै बहुलाउँ”॥

-गुरुराज घिमिरे                                                                                     – कविता                            

खडेरी परेर पट्ट फुटेको धरतीले
पानीको संसर्ग पाउदैन भने
उर्वराविहीन बाँझोपन
धर्ती हुनुको पूर्णता रहन्न सायद
आमा हुनुको परिणतिले
पूर्णाङ्ग ठान्छन् स्त्रीहरु जसरी
मरूभूमि पनि धर्ती
तथापि निसन्तान आमा झैं
अतृप्त सधैं!
अनि मान्छे?
पाशविकता, बिभेद र दुर्ब्यवहारको
शोषण, अमानवीयता र दुराचारको
अत्याचार र तिरस्कारको
शिकार सधैं
जमिन छ, राज्य छैन
सरकार छ, विवेक छैन
नेता छन, धर्म छैन
कारिन्दा छन, कर्म छैन
शरिर छ, लाज छैन
शिर छ, ताज छैन
उफ!
उपेक्षाको उत्कर्षमा
औसत जिन्दगी बाँच्नु कति
परायाले बजाएको ढोलकमा
सधैं भरि नाँच्नु कति
उसैको इशारामा
दुःखेको कम्मर भाँच्नु कति
जन्मको सार्थकता नभेटिएपछि
सायद बाँच्नुको अर्थ सकिन्छ
त्यसैले मृत्युको शंखनाद गर्छ मान्छे
किन्तु लाछी कुरा!
आउ साथी हामी क्रान्तिकारी बनौं
सुकरातले झैं साट्न सकिन्न
आफ्नैं मृत्युको अनुभुति
त्यसैले सुस्तरी सुस्तरी
तयारी गरौं बहुलाउने
ईर्ष्याले जलुन पापीहरु
अलिकति चाखौं नयाँ मजा
अलिकति भोगौं नयाँ संसार
आउ साथी, संगै बहुलाउँ!!