काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिकोे बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम श्री किरणकुमार श्रेष्ठलाई चैत्र २९ देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियक्ति गरिएको छ ।
यस अघि श्रेष्ठ खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियक्त भएका थिए । श्रेष्ठले २०४३ सालमा नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धक पदबाट बैंकिङ्ग करिअर सुरु गर्नुभई नेपाल बैंकको महाप्रबन्धक पदबाट अवकाश लिएका थिए । श्रेष्ठले विश्व बैंकको सहयोगमा संचालित वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारीमा समेत कार्य गरिसकेका छन्। उनंले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् ।
बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त भएका श्रेष्ठलाई बैंक व्यवस्थापन तथा कर्मचारीहरुबाट शुक्रबार बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।





