सुदूरपश्चिम

लकडाउनका समयमा वन अतिक्रमण वृद्धि

परशुरामधाम, १२ वैशाख । लकडाउनका समयमा डडेल्धुराको महाभारत तथा चुरे क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण बढेको छ । वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीलाई छल्दै जिल्लाका दर्जनौंँ स्थानमा वन अतिक्रमण भइरहेको छ ।

जिल्ला सदरमुकाम नजीकै रहेको त्रिपुरा सामुदायिक वनको तडिपाटा क्षेत्रमा लकडाउनको समयमा वन अतिक्रमण बढेको हो । यहाँको वन क्षेत्र फँडानी गरी अतिक्रमण बढाइएको स्थानीयवासी तिलक भट्टले बताएका छन् । वन अतिक्रमण गरिएका बारे सामुदायिक वनका पदाधिकारी तथा र पटकपटक वन कार्यालयलाई समेत जानकारी गराउँदा ध्यान नदिएको त्रिपुरा सामुदायिक वनका उपभोक्ता महादेव भट्टले गुनासो गरेका छन् । विगत वर्षमा केही अतिक्रमण हुने गरेको भए पनि पहिलेभन्दा अहिले अतिक्रमण बढेको उपभोक्ताले बताएका छन् ।

वनक्षेत्र अतिक्रमणका विषयमा वन डिभिजन कार्यालय डडेल्धुरालाई जानकारी गराइएको भए पनि कुनै पहल नभएको त्रिपुरा सामुदायिक वनका अध्यक्ष पुष्पराज जोशीले गुनासो गरेका छन् । उनले भने, “ वन डिभिजन कार्यालयलाई पत्राचार गरी अतिक्रमण हटाउन पटकपटक आग्रह गरेका छौं । बन्दाबन्दीका कारण योजनानुसार काम गर्न नसकिएकोे वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले बताएका छन् ।

उनले भने, “तुरुन्तै एक्सनमा जान मातहतका सबै कार्यालय र स्थानीय तहलाई पत्रचार गरिसकेका छौंँ । लकडाउन खुलेपछि अतिक्रमण हटाउँछौँ ।”जिल्लाको भित्रीमधेश चुरे क्षेत्रको वनसमेत अतिक्रमणको चपेटा परेको छ । सालका रुख भएको वन क्षेत्र र उर्वर भूमि भएकाले स्थानीयवासीले काठ कटानी गरी तस्कर गर्न र खेतीपाती गर्न वन क्षेत्र अतिक्रमण गर्दै आएका छन् । जिल्लामा कुल वनक्षेत्र एक लाख १५ हजार १६९ हेक्टर छ ।

क्षेत्रीय वन निर्देशनालय कैलालीको तथ्यांकानुसार सुदूरपश्चिम प्रदेशमा २८ हजार ४०३ दशमलव २८ हेक्टर क्षेत्रफल वन अतिक्रमणको चपेटामा परेको छ ।

राउटेका टहरा नष्ट

राउटे समुदायका व्यक्तिले चुरेक्षेत्रमा अतिक्रमण गरी टहरा निर्माण गरिएको जानकारी पाएपछि वन कार्यालय र स्थानीय सामुदायिक वनउपभोक्ता समितिको संयुक्त टोली गएर हटाइएको डिभिजन वन कार्यालयले जनाएको छ । राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका छाप्राटहरा भत्काई आगो लगाइएको हो । सालको वन भएको भित्रीमधेश जोगबुडा क्षेत्रमा अतिक्रमण गरी बनाइएका ६ छाप्रा भत्काई आगो लगाइएको डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए ।

परशुरामनगरपालिका –१२ स्थित डङ्शेरा सामुदायिक वन उपभोक्ता समूहसंँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा बनाइएका टहरा सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र वन कार्यालयका कर्मचारीको पहलमा भत्काई आगो लगाइएको अधिकृत आचार्यले जनाइएको छ ।