२३ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका अगुवा बुद्धिबहादुर रायमाझीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले रायमाझीको निधनले निरङ्कुश पञ्चायती व्यवस्थाविरोधी सङ्घर्षका क्रममा व्यतित गरेका कठिन दिनहरु स्मृतिमा आइरहेको बताएका छन् ।
“पूर्ववर्ती नेकपा (एमाले)का नेता तथा निरङ्कुशताविरोधी अनवरत सङ्घर्षका क्रममा मेरो जीवनका सहयोद्धा रायमाझीको निधनको खबरले मलाई अत्यन्त दुःख लागेको छ”, शोक वक्तव्यमा भनेका छन्, “नेपाल कम्युनिस्ट पार्टीका निष्ठावान कार्यकर्ता तथा मेरो मित्र रायमाझीप्रति श्रद्धासुमन अर्पण गर्दछु ।”
उहाँको हिजो वैशाख २२ गते काठमाडौँस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । उहाँ पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्षका क्रममा अर्घाखाँचीको चर्चित बर्रे सङ्घर्षका योद्धा हुनुहुन्थ्यो । रायमाझीले निरङ्कुशता विरोधी सङ्घर्षका क्रममा १३ वर्ष लामो जेल जीवन व्यतित गर्नुभएको थियो ।
पूर्ववर्ती एमालेको जिल्ला कमिटी सचिवालय सदस्य र केन्द्रीय पार्टी स्कूल विभागका सदस्यका रुपमा रहनुभएका उहाँ कुशल राजनीतिक जिम्मेवारी पूरा गर्नुभएको थियो । शोक वक्तव्यमा प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनमा उहाँले पु¥याउनु भएको योगदानको सदास्मरणीय रहेको उल्लेख गरेका छन् ।





