पु.समाचार

अपरान्ह भेटिए दुईजना कोरोना स्रक्रमीत, पुगे नेपालमा २७८ संख्या

३ जेठ काठमाडौं । कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीमा ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा सङ्क्रमण भएको बताए ।

आज यसअघि नौ जनामा सङ्क्रमण देखिएको थियो । अहिले नयाँ देखिएका सङ्क्रमणसँगै सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ महिला रहेका छन् भने ३६ जना उपचारपछि घर फर्किसकेका छन् । अहिलेसम्म २६ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको उनले बताए ।

प्रदेश नं १ मा ३६, प्रदेश नं २ मा १०९, वाग्मती प्रदेशमा १६, गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा १०९ र सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमित रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार अहिलेसम्म ९२ हजार ४४० को कोभिड–१९ को परीक्षण गरिएको छ । पिसिआर विधिबाट २६ हजार ६९१ जना र आरडिटीविधिबाट ६५ हजार ७४९ जनामा परीक्षण गरिएको छ । यसैगरी २४ घण्टामा पाँच हजार २४३ को परीक्षण गरिएको छ । यसैगरी मुलुकभरि १६ हजार २६६ जना क्वारेन्टाइनमा र ३२० जना आइसोलेशनमा रहेका छन् ।

स्वास्थ्यकर्मीलाई सहयोग गर्न आग्रह

मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग गर्न आग्रह गरे । उनले विभिन्न सञ्चारमाध्यममा स्वास्थ्यकर्मीलाई घर भाडामा बस्न नदिने जस्ता कुरा सुन्नमा आएका भन्दै उहाँले स्वास्थ्यकर्मीको मनोबल घटाउने र असहयोग गर्ने, घरमा पस्न नदिनेलगायतका कार्य अवाञ्छिनीय भएकाले यस्ता कार्य नगर्नसमेत आग्रह गरे ।

“हाम्रो जस्तो देशमा स्वास्थ्यकर्मीको सङ्ख्या नै न्यून रहेको छ, यस्तो न्यून सङ्ख्या रहेकामा उहाँहरुबाट नै सकेसम्म धेरैभन्दा धेरै स्वास्थ्य सेवा लिनुपर्ने हुन्छ, यो घडीमा उहाँहरुको मनोबल बढाउनुपर्दछ, सुरक्षित राख्नुपर्दछ”, मन्त्रालयका प्रवक्ता डा देवकोटाले भने ।

उनले पहिलो पङ्क्तिमा रहेका स्वास्थ्यकर्मीको परीक्षण गरिनेसमेत जानकारी दिए । मन्त्रालयले उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापन गर्नेसम्बन्धी मार्ग निर्देशन २०७७ तयार पारेको छ । कोभिड–१९ का सङ्क्रमित र सम्भावित सङ्क्रमण राख्ने अस्पतालमा कार्यरत रहने सबै स्वास्थ्यकर्मीको खटनपटनका लागि उक्त अस्पतालको जिम्मेवारी कस्तो हुने, व्यवस्थापन गर्न आर्थिक स्रोत कसरी जुटाउने र काम गर्ने स्वास्थ्यकर्मी थप जोखिममा रहेकाले त्यो जोखिमको कसरी व्यवस्थापन गर्ने भन्ने उद्देश्यले यो कार्यविधि बनेको उनले बताए ।

उनका अनुसार कार्यविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्स सबै कर्मचारीको व्यवस्थापन गर्न सहज हुनेछ । त्यसैगरी मानव अङ्ग प्रत्यारोपण केन्द्रमा रहेका छ वटा डायलासिस मेसिनलाई कोभिड–१९को सङ्क्रमण रहेका बिरामीका लागि छुट्याएर राखिने भएको जानकारी दिए ।