बाग्मती

वर्षाले भीमफेदी–कुलेखानी सडकको देउराली पहिरोले अवरुद्ध

हेटौँडा, २ असार । गएराति अविरल आएको वर्षाले भीमफेदी गाउँपालिका–६ देउरालीमा करिब १५ मिटर पहिरो आई बाटो अवरुद्ध हुँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अहिले पनि वर्षा भइरहेकाले मौसममा सुधार भएपछि उक्त पहिरो हटाई यातायात सञ्चालन गर्नेतर्फ डोजरसहितको प्राविधिक खटाइसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालले जानकारी दिएका छन् ।

वर्षाले इन्द्रसरोवर गाउँपालिका वडा नं २ र ४ मा पनि सिस्नेरी सडकखण्डको ठूलोभञ्ज्याङमा गएको पहिरो डोजरले हटाउने प्रयास भइरहेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।