समाचार

युवा मैत्री स्थानीय तह विकासका लागि प्राेत्साहन

१६ असार, काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ७ स्थानीय तहलाई युवा मैत्री स्थानीय तहको रुपमा छनौट गरेको छ । परिषद्ले युवाका क्षेत्रमा राम्रो काम गरेको आधारमा सात वटै प्रदेशका एक/एक स्थानीय तहलाई युवा मैत्री स्थानीय तहको रुपमा छनौट गरेको हो ।

छनोट भएकामा प्रदेश नं १ को चौदण्डीगढी नगरपालिका उदयपुर, प्रदेश नं. २ को बर्दिवास नगरपालिका महोत्तरी, वाग्मती प्रदेशको खैरहनी नगरपालिका चितवन, गण्डकी प्रदेशको रुपा गाउँपालिका कास्की, प्रदेश नंं ५ को तुलसीपुर उपमहानगरपालिका दाङ, कर्णालीको महाँबु गाउँपालिका दैलेख र सुदूरपश्चिम प्रदेशको वेलौरी नगरपालिका कन्चनपुर रहेका छन् ।

परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले सबै युवा साक्षर भएको, बैदेशिक रोजगारमा बाध्य भएर नगएको, सीप विकास सिकेको, व्यवसायमा संलग्न भएको र प्रत्येक वडामा युवा क्लव भएको लगायतका सूचक हेरी ती स्थानीय तहलाई युवा मैत्री स्थानीय तह छनौट गरिएको बताउनुभयो । छनोटमा परेका स्थानीय तहलाई परिषद्ले पाँच लाखका दरले प्रोत्साहन स्वरुप युवाको विकासका लागि रकम दिनेछ । परिषद्ले गत वर्षदेखि सात वटै प्रदेशमा युवा मैत्री स्थानीय तह छनौट गदै आइरहेको छ ।