समाचार

गाडी पार्किङ प्रकरणमा कांग्रेस आक्रोशित

२९ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको निजी निवास, सञ्चारगृहका प्रवेशद्वार तथा व्यवसायीहरूको कार्यस्थलमा अपरिचित व्यक्तिले सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

कांग्रेसले उक्त घटनालाई स्वतन्त्र अभिव्यक्ति, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने उद्देश्यले गरिएको नियोजित प्रयास को संज्ञा दिएको छ। पार्टीका अनुसार यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण हो।

कांग्रेसले घटनाको कडा शब्दमा निन्दा गर्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ।

साथै, लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सञ्चार क्षेत्र, नागरिक समाज, लोकतन्त्रवादी शक्ति र आम नागरिकलाई यस्ता गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न पनि कांग्रेसले आह्वान गरेको छ।