समाचार

प्रतिनिधि सभाका सभामुख सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया

२४ असार काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको आज (बुधबार) मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा  सभामुख सापकोटाको दायाँ आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले आज बिहान साढे १० उनको शल्यक्रिया गरेको सभामुखको सचिवालयले जनाएको छ । केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो । शल्यक्रियापछि सभामुख सापकोटा आराम गरिरहेका छन् ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेको सभामुखको सचिवालयले जनाएको छ ।