समाचार

सिन्धुपाल्चोकको बाह्रबिसेमा भयानक पहिरोः दुईको मृत्यु १८ जना बेपत्ता, १५ घर बगायो

२५ असार सिन्धुपाल्चोक । गएरातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिकाको जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाउनुका साथै २ को शव भेटिएको छ । भने १८ जना बेपत्ता छन् ।

साथै बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए ।

“खोला सडकमाथि बगीरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भने। निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेका छन् ।