सामाजिक सञ्जाल

प्रधानमन्त्रीले संवेदनशील विषयमा असान्दर्भिक टिप्पणी गर्दै महत्वपूर्ण विषय ओझेल पार्नु दुःखदः राणा

३१ असार काठमडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता उदय सम्शेर राणाले प्रधानमन्त्री केपी शर्माओलीले संवेदनशील विषयमा असान्दर्भिक/अमर्यादित टिप्पणी गर्दै महत्वपूर्ण विषयलाई ओझेल पार्नु दुःखद भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता राणाले कोभिड १९ नियन्त्रण, मानवस्वास्थ्य र अर्थतन्त्रमा परेको असर अनि भुमी फिर्ता मुलुकको प्रमुख कार्यभार भएको भएपनि यतातर्फ प्रधानमन्त्रीको कुनै चासो नगएको बताएका छन् ।

रामजन्मभूमीको विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति तर्फ केन्द्रित गर्दै नेता राणाले बरु संवेदनशील विषयमा असान्दर्भिक र अमर्यादित टिप्पणी गरेर महत्वपूर्ण विषयलाई ओझेल पार्ने काम प्रधानमन्त्रीबाट हुनु दुःखद रहेको भन्दै पदीय गरिमा ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए । प्रधानमन्त्रीको सोहि अभ्वियक्तिको चौतर्फि आलोचना भईरहेको बेला नेता राणाले यस्तो ट्वीट गरेका हुन् ।

उनको ट्वीटः कोभिड १९ नियन्त्रण, मानवस्वास्थ्य र अर्थतन्त्रमा परेको असर अनि भुमी फिर्ता मुलुकको प्रमुख कार्यभार हो । यतातर्फ प्रमको कुनै चासो छैन । बरु संवेदनशील विषयमा असान्दर्भिक र अमर्यादित टिप्पणी गरेर महत्वपूर्ण विषयलाई ओझेल पार्ने काम प्रमबाट हुनु दुःखद हो । प्रमले पदीय गरिमा ख्याल गरुन् ।