पु.समाचार

त्रिविमा कोरोना संक्रमित चिकित्सकको सङख्या २२ः आज ४ जना थपिए

३० साउन, काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित हुने चिकित्सकको सङ्ख्या २२ पुगेको छ । माहाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा संक्रमित चिकित्सकको सम्पर्कमा आएका मध्य ४ जना चिकित्सकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना चिकित्सकमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

चिकित्सकमा कोरोना संक्रमण फैलिँदै गएपछि हाल ईमेर्जेन्सी विभाग सिल गरिएको छ । साथै इमरजेन्सी विभागका एक सयचभन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने र उनीहरु सबै हाल होम क्वारेन्टाइनमा रहेका बताइएको छ ।

नयाँ संक्रमित स्वास्थ्यकर्मी इमरजेन्सीको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिएका छन् । यद्यपि उनीहरु कुन वार्डको भनेर छुट्याउन बाँकी छ ।

इमर्जेन्सी विभागको चिकित्सकहरुको रिपोर्ट आएपछि मात्र इमर्जेन्सी विभाग खुल्ने र नखुल्ने विषयमा निर्णय हुनेछ । पछिल्लो समय फ्रन्ट लाईनमा भएर काम गर्नै मुलुकैभरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा संक्रमण बढ्दै गएको छ ।