३० साउन, काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । बिहीबार नौ दिनपछि वार्तामा बसेका दुई अध्यक्ष दोस्रा तहका नेताले तयार पारेको सहमतिको खाकाबारे छलफलमा बसेका हुन् ।
बिहीबार भएको छलफलमा ओलीले दाहाललाई अझ कार्यकारी अधिकार दिने, केन्द्रीय कमिटिलाई महाधिवेशन आयोजनक कमिटिमा रुपान्तरण गर्ने, आउँदो चैतमा महाधिवेशन गर्ने, आफूलाई पूरा कार्यकाल प्रधानमन्त्री बनाउनुपर्ने लगायतका प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावबारे अरु नेतारुसँग छलफल गरेर जवाफ दिने बताएर बालुवाटारबाट बाहिरएका दाहाल वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग छलफल गरेर ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । बिहीबारको छलफल ‘सकारात्मक’ भएको दाबी गरिए पनि साँझ दाहाल नेपाल पक्षले ५ नम्बर प्रदेशका केन्द्रीय सदस्यसँग गरेको छलफलमा ओलीलाई एउटा पदबाट जसरी पनि राजीनामा गराउने बताएका थिए ।
असार १० गते सुरु भएको स्थायी समिति बैठकमा दाहाल नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । साउत १३ गते एक पक्षीय रुपमा सुरु भएको स्थायी कमिटि अझै निश्चित भएको छैन । साथै गत साउन २० गतेयता दुई अध्यक्षको कुवै छलफल भएको थिएन ।





