३१ साउन, काठमाडौँ । उपरराष्ट्रपति नन्दबहादुर पुनले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायत देशका विभिन्न भागमा बाढीपहिराका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेका छन् ।
उनले बाढीपहिराबाट विस्थापितका लागि पर्याप्त राहत सामग्री र घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् ।उपराष्ट्रपतिले सिन्धुपाल्चोक, कालीकोट, जाजरकोट, तनहुँ, गोरखा, दार्चुला, काठमाडौँ, दोलखा, ललितपुर, भोजपुर, मकवानपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक जिल्लालगायत स्थानमा बाढीपहिराबाट भएको क्षतिका सन्दर्भमा आज वक्तव्य जारी गरी वर्षाको समय अझै बाँकी रहेको र मौसमविद्ले बाढीपहिरो एवं डुबानको सम्भावना औँल्याइरहेकाले सम्बद्ध सबै पक्षलाई उच्च सतर्कता अपनाउन तथा व्यवस्थित पूर्वतयारी गर्न आग्रह गरेका छन् ।





