समाचार

भरतपुर अस्पतालमा हालसम्म १४ हजारको नमूना परीक्षण

३२ साउन, चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा हालसम्म १४ हजार ५०० नमूना परीक्षण गरिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार चितवनसहित १४ जिल्लाका ती नमूना परीक्षण गरिएको हो । सोमध्ये ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए ।

चितवनमा मात्रै तीन हजार ५०० नमूना सङ्कलन गरी परीक्षण गरिएको छ । सोमध्ये १९९ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए । तीमध्ये एक जनाको मृत्यु भइसकेको छ भने भरतपुर अस्पतालबाट ९३ जना उपचारपछि घर फर्किसकेका छन् । भरतपुर अस्पतालमा मृत्यु भएका अर्का एक कैलालीका रहेका छन् । जिल्लाका सङ्क्रमित मध्ये ११३ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् भने ८५ जना अहिले पनि उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार ८५ जना मध्ये ४२ जना भरतपुर अस्पतालमा उपचाररत छन् भने अन्य होम आइसोलेशनमा रहेका छन् ।

कोरोना सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका १२१ जना, कालिका नगरपालिकाका पाँच जना, रत्ननगर नगरपालिकाका नौ जना, माडी नगरपालिकाका ४१ जना, खैरहनी नगरपालिकाका सात जना, राप्ति नगरपालिकाका १५ जना र एक जना इच्छाकामना गाउँपालिकाका रहेका छन् । जिल्लामा पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । कोरोनाको उपचार गर्दै आएको जिल्लाको हव अस्पताल भरतपुर अस्पतालका प्रमुख र रत्ननगर बकुल्लहर अस्पतालका प्रमुखसहित २८ जना चिकित्सक, स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् ।