कर्णाली प्रदेश

कालिकोट पहिरोः एकै परिवारका ४ सहित १० जनाको सब फेला (अपडेट)

१५ भदौ, सुर्खेत । कालिकोटमा आइतबार गएको पहिरोमा परी एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ ।

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा ४० वर्षे परेक शाही, उनका पाँच वर्षे छोरा निराजन शाही, दुई महिने छोरा अक्कल शाही र सात वर्षिया छोरी हिमा शाहीको घटनास्थलमै मृत्यु भएको हो। परेकी श्रीमति पुन्या शाही घाइते भएकी छिन् ।

त्यस्तै पहिरोमा अर्को घरमा पनि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ३० वर्षे टेकबहादुर दमाइसहित उनकी श्रीमति २५ वर्षीया छोइनु दमाई र ६ वर्षे छोरा गजेन्द्र दमाईको पनि घटनास्थलमै मृत्यु भएको हो ।

सोही पहिरोमा परी ३५ वर्षे मनविर कटुवाल, ४० वर्षिया आइती खड्का र २४ वर्षे अमृत थापाको पनि मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

पहिरोमा घाइते पुन्या र अर्जुन हमालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । घरमाथिबाट आएको सुख्खा पहिरोले नाग्म बजारका ४ वटा घर पुरेको हो ।

यसैबीच घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । गृह जिल्लामा भएको घटनाका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।