पु.समाचार

कोरोनाका कारण मोरङकी ४३ वर्षे महिलाको बीपी प्रतिष्ठानमा मृत्यु

२० भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण मोरङकी ४३ वर्षे महिलाको बीपी प्रतिष्ठानमा मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला छिन् । उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो । बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो । पछिल्लो पटक श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको डा. सापकोटाले जानकारी दिएका छन् ।