२२ भदौ, काठमाडौं । कोरोना भाईरस संक्रमणबाट मृत्यु भएका मानिसहरुको विभिन्न अंग झिकेको भन्दै अन्तवार्ता दिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई ललितपुरको ढोलाहिटिस्थित उनकै क्लिनिकबाट प्रहरीले पक्राउ गरिएको हो । विभिन्न युट्युव च्यानलहरुमा अन्तार्वार्ताका क्रममा उनले कोरोना भाईरस संक्रमणबाट मृत्यु भएका मानिसहरुको विभिन्न अंग झिकेको भनि आरोप लगाउँदै आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको पनि दाबी गर्दै आएका थिए ।
महानगरीय अपराध महाशाखाको टोलीले आफुलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।
सएसपी थापाका अनुसार यसअघि पनि उनले आफू आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको भन्ने उजुरीका आधारमा सातादोबाटो प्रहरी वृत्तले समेत पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
एसएसपी थापाका अनुसार पक्राउ परेका लिम्बूलाई कोरोना भाइरसको संक्रमणबारे भ्रम फैलाएको र विभिन्न व्यक्तिलाई आक्षेप लगाएको आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाउने भएको छ । उनले विभिन्न युट्युव च्यानलहरुमा कोरोनाको औषधि पत्ता लगाएको, कोरोनाबाट मृत्यु भएकाहरुको गोप्य रुपमा अंग झिक्ने गरेको बताएका थिए ।





