२३ भदौ, बाँके । बाँकेमा मंगलबार थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. १२ निवासी ४२ वर्षीय पुरूषको आज (मंगलबार) ९ बजेर २० मिनेटमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गम्भीर खाले निमोनियाको कारण उनको मृत्यु भएको हो । मृतक व्यक्ति पेशाले टिपर चालक थिए । उनी साउन २७ गते टिपर दुर्घटनामा घाइते भएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि भर्ना भएका थिए ।
उनको स्वास्थ्यमा समस्या आएपछि कोरोना आशंका लागेर भदौ ४ गते स्वाब संकलन भएको र भदौ ५ गते उनको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् । त्यसपछि युनिभर्सल मेडिकल कलेज भैरहवाले भीम अस्पताल भैरहवामा रिफर गरेपछि भदौ ५ गतेदेखि ९ गतेसम्म उपचार भएको थियो ।
त्यहाँ केही सुधार भएपछि भदौ ११ गते बिहान भीम अस्पतालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा थप उपचारका लागि रिफर गरेको श्रेष्ठले जानकारी दिएका छन् । बिरामीको अवस्थामा सुधार नआएपछि त्यही उपचारका क्रममा उनको मंगलबार बिहान मृत्यु भएको श्रेष्ठले बताए ।
योसँगै बाँकेमा उपचारका लागि ल्याइएकामध्ये मंगलबारसम्म तीन जना बाहिरी जिल्लाका संक्रमितको मृत्यु भएको छ । फोकल पर्सन श्रेष्ठका अनुसार यसअघि अछाम जिल्लाका एक र कैलालीका अर्का एक कोरोना संक्रमित व्यक्तिको पनि उपचारका क्रममा मृत्यु भइसकेको छ । योसँगै बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको श्रेष्ठले बताए ।





