१६ कार्तिक, एजेन्सी । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।
सारजाह क्रिकेट मैदानमा बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदराबादको जितमा रिद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे ।
यस्तै जासन होल्डरले अविजित २६ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए । वासिंगटन सुन्दर र नाभदिप शैनीले १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।
बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन जोडे । यस्तै एबी डी भिलियर्सले २४ रन जोड्दा वासिंगटन सुन्दरले २१ रन बनाए । गुर्किरात सिंहले अविजित १६ रन बनाए । कप्तान विराट कोहली ७ रनमा आउट हुँदा देबदुत पडिकलले पनि ५ रन मात्र बनाउन सके ।
हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २र२ विकेट लिए । यस्तै राशिद खान,शबाज नदीम र टि नटराजनले १र१ विकेट लिए । जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ । यस्तै हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।
हैदराबादले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ । मुम्बईले भने क्वालिफायरमा स्थान पक्का गरिसकेको छ । यो हारसँगै बैंगलोरलाई पनि प्ले अफ पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । बैंगलोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ । बैंगलोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।





