२१ पुष, काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह निकट अनेरास्ववियुले ओलीको पुत्ता दहनदेखी बिभिन्न दोस्रो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि सत्तारुढड दल ओली र पुष्पकमल दाहाल-माधवकुमार नेपाल गरी दुई भागमा बिभाजित भएको छ ।
दाहाल-नेपाल समहुले ओलीको संसद बिघटन गर्ने कार्यको निरन्तर बिरोध गर्दै आएको छ । यसैक्रममा आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि ओलीद्वारा गरिएको संसद विघटनको विरुद्ध दाहाल-नेपाल निकट अनेरास्ववियुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङका अनुसार उक्त समुहले गरेको घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि, लालटिन जुलुस, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहनलगायत रहेका छन् । त्यस्तै ज्ञापनपत्र बुझाउने, सडक बहस र बयलगाडा प्रदर्शन समेत आन्दोनलका कार्यक्रम तय गरिएको सहसंयोजक तामाङले बताएका छन् ।
उनका अनुसार पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गते नै प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने,पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन, सिट्ठी र लाठी जुलुस गर्ने तथा २३ गते – देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना दिने कार्यक्रम छ ।
त्यसैगरी पौष २५ गते (असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम, २६ गते बयलगाडा प्रदर्शन,२७ गते प्रतिगमनबिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम अनेरास्ववियुले सार्वजनिक गरेको छ । पौष २८ गते – सडक नाटक र सडक आर्ट- स्ट्रिट वाल पेन्टिङ र २९ गते सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शनका कार्यक्रम तय गरिएको अनेरास्ववियुले जारी गरेका विज्ञप्तिमा उल्लखे छ । तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गर्ने समेत सो संगठनले जनाएको छ ।
शैक्षिक कार्यक्रममा संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भुमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष गर्ने पनि अनेरास्ववियुले जनाएको छ ।
त्यसैगरी कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने र कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढङ्गले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने अनेरास्ववियुको तयारी छ ।





