खेलकुद

फूटबल टिमका पूर्व गोलरक्षक तथा एन्फाका पूर्व महासचिव शाहीको निधन

२७ पुष, काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व गोलरक्षक तथा अखिल नेपाल फूटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

शाहीको निधन गएराति उनको दैलेखस्थित घरमा भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै लेखेका छन् । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलिमा रहेर खेलेका थिए । विभिन्न रोगले थलिएका उनको गए राति निधन भएको हो ।

सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट संहालेका शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

उनले सन् १९८४, १९८५, १९८७ र १९८९ गरी चारपल्ट साफ गेम्स खेलेका छन् । सन् १९८२ मा नवौं एसियाली खेलकुदमा पनि उनी नै राष्ट्रिय टोलीका गोलरक्षक थिए ।

त्यो प्रतियोगिता नेपाली फूटबलको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसबाहेक उनले सन् १९८६ को विश्वकपका लागि नेपालमै भएको छनोट प्रतियोगितामा मलेसिया र दक्षिण कोरियासँग खेल्दा शाही नै गोलरक्षक थिए । सन् १९८९ मा राष्ट्रिय टोलीबाट विश्राम लिएका थिए ।