१ माघ, काठमांडौं । तीनदिने भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत जाँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले नेपाल-भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिने कार्यक्रम छ ।
उनले भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समत भेट्ने जानकारी दिइएको छ । नेपाल-भारतको सीमा विवादका विषयमा समेत कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना खोप भित्र्याउन बारेमा पनि परराष्ट्रमन्त्रीले छलफल गर्नेछन् ।
नेपाल–भारत व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ ।
ज्ञवाली कामचलाउ सरकारका मन्त्री रहेकाले भारत भ्रमणका क्रममा दीर्घकालीन महत्वका विषयमा कुनै सम्झौता, साझेदारी नगर्न विभिन्न पक्षले उनलाई सचेत गराएको छ ।




