लुम्बिनी

ट्रकको ठक्करबाट एकको मृत्यु

कपिलवस्तु, २ माघ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउन समेत उनले आग्रह गरेका छन् । उनले दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताएका छन् ।