पु.समाचार

दाहाल-नेपाल पक्षधरले ओलीलाई हटायोः पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने

१९ माघ, काठमाडौं । नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समुहले निर्वाचन आयोगमा आफ्नो पार्टी आधिकारिकता दाबी गर्ने भएको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो ।

आज दिउँसो बसेको उक्त समुहको केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा दुई भागमा बिभाजित भएको छ ।

एक समुहको नेतृत्व स्वयंम केपी शर्मा ओलीले गरेका छन् भने अर्काे समुहको नेतृत्व दाहाल-नेपालले गरेका छन् । संसद विघटनसँगै दुई समुहमा विभाजित नेकपाको दाहाल-नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेको थियो ।

दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गर्ने निर्णय गरेको हो । साथै दुबै समुहले आँफुसंग बहुमत रहेकाले आफ्नो पार्टीले आधिकारिकता पाउने दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले भने केहि निर्णय गरेको छैन ।

यस्तै उक्त समुहको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै र विष्णु पौडेललाई महासचिवबाट समेत हटाउने स्थायी कमिटीको निर्णय पनि अनुमोदन गरेको छ ।