काठमाडाैं, २४ माघ । आज देशभर मौसम बदली भएको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेका कारण मौसम बदली हुने महाशाखाको भनाई छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।
यस्तै आज काठमाडौंमा विहानको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । दिउँसो १८-२० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै आज बिहान काठमाडौं उपत्यकामा आंशिक बदली भएको र ११ बजे पछि सामान्य बदलीको सम्भावना रहेको वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिएका छन् । यस्तै २-३ बजेपछि काठमाडौंमा हल्का पानी पर्नसक्ने सम्भावना छ । तराईमा आज हुस्सु लागेको छैन । नेपालगञ्ज र कपिलबस्तुको बीचमा इन्डियाको सीमावर्ती क्षेत्रमा पातलो हुस्सु रहे पनि तराईका अन्य भू-भागको मौसम खुलेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर आंशिकदेखी सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही वाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।





