ब्रेकिङ न्युज

निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध १० दिनभित्र उजुरी आह्वान

२५ असार, काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाई प्रक्रिया अघि बढाएको हो।

प्रस्तावित व्यक्तिहरुको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विधुतिय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए ।

आगामी साउन ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरुलाई बितरण गरिने उनले जानकारी दिए।

बैठकमा बिपक्षी दलका सांसदहरुले सुनुवाई प्रक्रिया हतारमा नभइ प्रक्रिया पुराएर अघि बढाउन आग्रह गरेका थिए ।

समिति सदस्य पद्मा अर्यालले एकै दिन सुनुवाइ प्रक्रिया अघि बढाउदा प्रभावकारी नभएको भन्दै प्रक्रियागत रुपमा नै सुनुवाई गर्नुपर्ने धारणा राखे ।

त्यस्तै समिति सदस्य बर्षमान पुनले संसदीय सुनुवाईको बिगतको अभ्यास अनुसार अघि बढाउनुपर्ने बताए ।

सांसदहरुको सुझावपछि समितिका सभापति श्रेष्ठले प्रक्रियागत रुपमा नै प्रयाप्त छलफल गर्दै सुनुवाई प्रक्रिया अघि बढाइने बताए । संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा तीन जनाको नाम सिफारिस गरेको थियो ।