समाचार

काठमाडौंमा आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस

माघ २९ काठमाडौं । काठमाडौंमा आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्यिस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

काठमाडौंको दिउँसोको तापक्रम २०-२२ डिग्री सेल्सियस पुग्ने छ । दिउँसो मौसम सफा रहे पनि अपराह्न्न पछि बादल लाग्ने छ । करिब तीनदिनसम्म मौसममा बदली रहे पनि कमजोर मौसमी प्रणालीका कारण पानी भने नपर्ने मौसमविद् मानन्धर बताउँछिन् ।

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अधिकांश क्षेत्रमा अपराह्न्नपछि हटेर जाने उनको भनाइ छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सफा रहनेछ । आजराति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ मा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।