पु.समाचार

नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउः राज्यविरुद्धको कसुर

माघ २९, काठमाडौँ । नेकपाको दाहाल-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो ।

यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् ।

पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

निवासमै पत्रकार सम्मेलन गर्दै झाँक्रीले सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भएको बताइन् । तानाशाहहरू ढल्ने बेलामा अनेक जुक्ति लगाउँने गरेको पनि नेत्री झाक्रीले बताइन् ।’

गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ । झाँक्रीलाई पक्राउन गर्न लागिएपछि उनको निवासमा भेला भएका नेकपा दाहाल-नेपाल समूहका कार्यकर्ताले विरोध जनाएका थिए । उनीहरूले सरकार र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।