लुम्बिनी

आज बुटवलमा ओली समुहको आमसभाः ओलीले सम्बोधन गर्ने

१ फागुन, काठमाडौं । नेकपाको ओली समुहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन सहित आमसभाको आयोजना गर्दै छ ।

संसद बिघटन गरेर चुनाव घोषणा गरेका केपी शर्मा ओलीले उक्त आमसभालाई सम्बोधन गर्ने भएका छन् । साथै ओली समुहले आजको आम सभामा दुई लाख मानिस उतार्ने दाबी समेत गरेको छ ।

लुम्बिनी प्रदेश ओली समूहका इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले आज हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने जानकारी दिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए ।

ओली समुहको सभा मध्याह्न १२ बजेपछि बुटवल-७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने पोखरेलले बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले संसद बिघटन गरेपछि नेकपा दुई खेमामा बिभाजित भएको छ ।

एउटा समुहको नेतृत्व ओलीले गरेका छन् भने अर्काे समुहको नेतृत्व दाहाल-नेपालले गरेका छन् । दुई खेमामा बिभाजित भएका दुई समुहले मुलुकका बिभिन्न स्थानमा आमसभा तथा जुलुसजस्ता कार्यक्रमलाई तिब्रता दिईरहेका छन् ।