काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रले प्रवाह गर्ने सूचना एवम् विचारबाट समाजमा ठूलो प्रभाव पर्ने भएकाले राष्ट्रिय समाचार समितिलगायत सञ्चार जगत् यसप्रति संवेदनशील र चनाखो बन्नुपर्ने बताएकी छिन् ।
मुलुकको अग्रणी समाचार संस्था रासस आफ्नो स्थापनाको हीरक वर्ष प्रवेश गरेका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले समाजमा पछि पारिएका वर्ग, सीमान्तकृत समुदाय, हिंसामा परेका महिला तथा बालबालिका, लुकेर रहेका प्रतिभा, राष्ट्रिय गौरवका विषय आदि उजागर गरी राससले राज्यप्रतिको आफ्नो भूमिका अझै बढाउने अपेक्षा व्यक्त गरेकी छिन् ।
सही सूचना नै शक्ति हो भन्ने मान्यतामा आधारित भई राससले सदैव आधिकारिक, विश्वसनीय तथा सत्यतथ्य एवं निष्पक्ष राष्ट्रिय-अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्वीर र श्रव्यसामग्री प्रस्तुत गरेर नेपाली सञ्चार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको, राज्यका नीति, सरकारका निर्णय र कार्यक्रमलगायत विषयवस्तु समयमै जनतासमक्ष सुसूचित गर्ने तथा सर्वसाधारण, बुद्धिजीवी, नागरिक समाज र राजनीतिक दलसँग सम्बन्धित जनचासोका विषयमा समाचार एवं विचार सम्प्रेषण गरी राष्ट्रिय नीतिनिर्माणमा योगदान दिंँदैआएको, समाचार प्रस्तुतिमा सदैव निष्पक्ष भूमिका निर्वाह गरिआएको जनाउँदै राष्ट्रपतिले यसका समाचारमा प्रयुक्त शिष्टतापूर्ण भाषा सबै सञ्चारमाध्यमका लागि अनुकरणीय रहेको पनि बताईन ।
संस्थाको हीरक वर्षका अवसरमा राससलाई विश्वका प्रतिष्ठित समाचार समितिकै दाँजोमा पुर्याउनका लागि विशेष नीति एवं दृष्टिकोण बनाउन नेपाल सरकार र सम्बद्ध पक्षले भूमिका खेल्ने विश्वास राष्ट्रपतिले प्रकट गरेकी छिन् । हीरक वर्ष प्रवेशका अवसरमा वर्षभरि नै रचनात्मक क्रियाकलापका साथ आफ्नो सेवा विस्तार गर्दै नेपाली सञ्चारजगत्को नेतृत्व गर्न रासस सक्षम होस् भन्ने कामनासहित राष्ट्रपति भण्डारीले स्थापनाकालदेखि हालसम्म राससको प्रगतिमा योगदान गर्ने संस्थाका सम्पूर्ण पदाधिकारी, व्यवस्थापक, कर्मचारी एवं पत्रकार, ग्राहक तथा आमपाठकको उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा पनि व्यक्त गरेकी छिन् ।
यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छिन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।
राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग भएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेकी छिन् ।
“प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ”, सन्देशमा भनिएको छ । विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीराङ्गना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।





