पु.समाचार

कांग्रेसका वरिष्ठ नेता पौडेल निस्किए आजदेखि पूर्वी तराईको भ्रमणमा

७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् ।

पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि आजै विहान सवा ८ बजे बुद्ध एयरको विमानबाट विराटनगर प्रस्थान गरेका हुन् । पौडेल फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिएका छन् ।

पौडेल आज सुनसरीको धरान पुग्ने छन् । पौडेलले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागि भएपछि सोहि उपमहानगरपालिका निर्माण भएको वीपी पार्कको उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते नै सप्तरीको राजविराज पुग्ने छन् । फागुन १० गते सप्तरीका सबै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् ।

सिरहा र सप्तरीको सबै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । सप्तरीमा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सबै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।