पु.समाचार

कांग्रेस, माओवादी केन्द्र र जसपाको त्रिपक्षीय बैठक आजः सत्ता सहकार्यको विषयमा छलफल हुने

२ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र माओवादी केन्द्रको बैठक आज बस्दै छ ।

नयाँ सत्ता समिकरणमा सहमति जुटाउन त्रिपक्षिय बैठक आज बस्न लागेको हो । यी तीन दलहरुबीच एक आपसमा पटक पटक छलफल भएपनि सत्ता सहकार्यकै लागि पहिलो पटक त्रिपक्षिय बैठक बस्न लागेको हो ।

आजको बैठकले भावी प्रधानमन्त्रीबारे सहमति जुटाउने कांग्रेस नेताहरुले बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र सरकारमा जानुहुन्न भन्ने मत मत्थर भइसकेको छ भने संस्थापन इतर समूहले नेतृत्वका लागि अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई सहमति दिइसकेको छ ।

सरकारको नेतृत्वको विषयमा कांग्रेस एकमत देखिएको र अंक गणितका हिसाबले पनि ठूलो रहेकाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने सम्भावना बलियो रहेको देउवानिकट नेताहरुको बुझाई छ ।

माओवादी केन्द्रले पनि जुनसुकै शर्तमा प्रधानमन्त्री केपी ओलीलाई हाटाउने बताउँदै आएको छ । जसपाले पनि नयाँ सरकारबारे एकमत बनाईसकेको छ ।

आफ्ना मुद्दा पूरा गर्नेलाई प्रधानमन्त्रीमा सघाउने सार्वजनिक अभिव्यक्ति दिदै आएको जसपाको भित्री स्वार्थ भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने देखिएको छ ।