एजेन्सी । होर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएलगत्तै अमेरिकाले इरानमाथि शक्तिशाली सैन्य हमला सुरु गरेको छ। अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको भन्दै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानलाई भारी मूल्य चुकाउनु कारबाही गरिएको घोषणा गरेको हो।
युद्धको सुरुमै मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको क्रममा यी अमेरिकी हमलाहरू भएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी हमलाबाट इरानको क्युशम टापु, बन्दर अब्बास र सिरिक सहरहरू गम्भीर रूपमा प्रभावित भएका छन्।
ती क्षेत्रहरूमा शक्तिशाली विस्फोटका आवाज सुनिनुका साथै छर्रा लागेर केही मानिसहरू घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
यद्यपि, हालसम्म मृत्युको कुनै आधिकारिक पुष्टि भने भएको छैन। यस घटनाले जलमार्ग पुनः खोल्ने, इरानको आणविक कार्यक्रम नियन्त्रण गर्ने र गत फेब्रुअरी २८ देखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको शान्ति वार्तालाई थप सङ्कटमा धकेलेको छ।
सैन्य हमला गर्नुअघि अमेरिकी अर्थ मन्त्रालयले इरानमाथि अस्थायी रूपमा फुकुवा गरिएको तेल प्रतिबन्धको छुटलाई खारेज गरिदिएको थियो। गत जुन १७ मा वासिङ्टन र तेहरानबीच भएको १४ बुँदे समझदारीअन्तर्गत इरानलाई तेल र पेट्रोल उत्पादनहरू बिक्री गर्न अनुमति दिइएको थियो।
इरानका उप–परराष्ट्रमन्त्रीले अमेरिकी हमलालाई सोही समझदारीपत्रको ठाडो उल्लङ्घन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाफ दिने चेतावनी दिएका छन्।
इरानको परराष्ट्र मन्त्रालयले पनि यस कदमलाई अमेरिकी सरकारको खराब नियत र अविश्वसनीयताको प्रमाण भनेको छ। अर्कातर्फ, अमेरिकी सेन्टकमले भने इरानको विनाकारणको आक्रामक व्यवहारले स्पष्ट रूपमा युद्धविरामको उल्लङ्घन गरेको दाबी गरेको छ।
आफ्नो क्षेत्रबाट गुज्रिरहेका तेल ट्याङ्करहरूमा आक्रमण भएको भन्दै खाडी मुलुकहरू कतार र साउदी अरेबियाले इरानको कडा निन्दा गरेका छन्। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वको कुल तेल र ग्यास आपूर्तिको करिब पाँचौँ हिस्सा ओसारपसार हुने होर्मुज जलमार्ग बन्द गरिदिएको थियो। सो समयमा इरानले जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्न ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ गठन गरेको थियो। पछि भएको १४ बुँदे नयाँ सम्झौताअनुसार ओमान र इरानले मिलेर जलमार्गको व्यवस्थापन गर्ने र जहाजहरूबाट ‘सेवा शुल्क’ उठाउने सहमति भएको थियो, जुन अहिले सङ्कटमा परेको छ।
गत महिना भएको १४ बुँदे सम्झौतामा सबै मोर्चामा द्वन्द्व अन्त्य गर्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि ३०० अर्ब डलरको कोष प्रतिबद्ध गर्ने विषय उल्लेख थियो।
कच्चा तेलको मूल्य आकासियो
अमेरिकाले इरानमाथि नयाँ सैन्य आक्रमण सुरु गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। अमेरिकाले इरानविरुद्ध तेल व्यापारमाथिको प्रतिबन्ध पुनः लागू गरेपछि अमेरिकी कच्चा तेलको मूल्य २.७ प्रतिशतले बढेर प्रतिब्यारेल ७२.४० डलर पुगेको छ।
यसैबीच, मुद्रास्फीति र उच्च ब्याजदरको जोखिम बढ्ने आशङ्कामा लगानीकर्ताहरू हतोत्साहित हुँदा १० वर्षे ट्रेजरी भाउमा समेत गिरावट आएको छ।





