९ चैत्र, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गर्दैछिन् । राष्ट्रपति भण्डारी बङ्गलादेशी समकक्षी मो.अब्दुल हमिदको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा बङ्गलादेश जान लागेकी हुन् ।
राष्ट्रपति नेपाल वायु सेवा निगमको विशेष चार्टर्ड विमान आरए ००१ मार्फत आज बिहान ८ बजेर ४० मिनेटमा बङ्गलादेश प्रस्थान गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई राजकीय सम्मानका साथ बिदाइ गर्ने तयारी सरकारले गरेको छ । गणतन्त्र नेपालको राष्ट्रपति स्तरको पहिलो भ्रमण भएकाले बङ्गलादेशमा भव्य स्वागतको तयारी भएको बङ्गलादेशस्थित नेपालका राजदूत डा. वंशीधर मिश्रले जानकारी दिएका छन् ।
राष्ट्रपति भण्डारीलाई बंगलादेशी राष्ट्रपति हमिदले विमानस्थलमा स्वागत गर्नेछन् । विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको शहीद स्मृति पार्क जाने पहिलो कर्यक्रम छ । त्यसपश्चात राष्ट्रपति भण्डारी दिनभरजसो नै बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी समारोह तथा स्वर्ण जयन्ती समारोहमा व्यस्त रहने छिन् ।
त्याहाँ राष्ट्रपति भण्डारीले नेपाल-बङ्गलादेश सम्बन्ध तथा बङ्गबन्धुको जन्मशताब्दीका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा नेपाली सांस्कृतिक समूहले बङ्गबन्धुको जन्मशताब्दी समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सोही क्रममा समकक्षी हमिदसँग छुट्टै द्विपक्षीय भेटवार्तासँगै रात्रि भोजमा सरिक हुने कार्यतालिका छ । मङ्गलबार राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपालीसँग भेट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीको साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, मन्त्रालयका उच्चाधिकारी जानेछन् । राष्ट्रपति भण्डारी चैत १० गते दिँउसो स्वदेश फर्कनेछिन् ।





