पु.समाचार

नेकपा विवादबारे सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

१० चैत्र, काठमाडौं । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।

कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको हो । मङ्गलबार स्थायी समिति बैठकअघि माओवादीले कानुन व्यवसायीहरूसँग छलफल गरेको थियो ।

छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भएको र मागदाबी नै नगरिएको विषयमा फैसला आएकोले ६० दिनभित्र पुनरावलोकनमा जान सुझाव दिएका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा विवादमा सर्वोच्चले गरेको फैसला राजनीतिक प्रकृतिको भएकाले पुनरावलोकनमा जाने निर्णय भएको बताएका छन् । 

फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था भएअनुसार पुनरावलोकनमा जाने उनको भनाई छ । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे अहिले कुनै छलफल नभएको पनि जानकारी दिएका छन् ।