३० चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक पनि स्थगित भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिएका छन् ।
वरिष्ठ नेताको अनुपस्थितिमा बैठक बस्न नसक्ने भन्दै सभापति शेरबहादुर देउवाले रोक्न निर्देशन दिएअनुसार आज बैठक नबस्ने उनले जानकारी दिएका छन् ।
आजको बैठकमा नयाँ सरकार गठनको पहल, महाधिवेशनको सदस्यता नवीकरण लगायतका विविध विषयमा निर्णय गर्ने एजेण्डा थिए ।
हिजो भएको पदाधिकारी बैठक पनि सभापति देउवा र वरिष्ठ नेता पौडेल अनुपस्थित भएपछि निर्णयबिना नै सकिएको थियो ।





