खेलकुद

आइपीएल : पञ्जाबद्वारा मुम्बई इन्डियन्स पराजित

११ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गतको खेलमा पञ्जाब किंग्सले जित निकालेको छ । शुक्रबार राति चेन्नईमा सम्पन्न भएको खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै जित निकालेको हो ।

१ सय ३२ रनको लक्ष्य पञ्जाबले १७ ओभर चार बलमा मात्रै एक विकेटको क्षतिमा भेट्टाएको हो । पञ्जाबका लागि कप्तान केएल राहुलले ५२ बलमा नटआउट ६०, क्रिस गेलले ३५ बलमा नटआउट ४३ तथा मयंक अग्रवालले २० बलमा २५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ५२ बलमा ६३ तथा सूर्यकुमार यादवले २७ बलमा ३३ रन बनाए पनि पर्याप्त भएन । खेलपछि पाँच खेलबाट समान चार अंकसहित मुम्बई चौथो तथा पञ्जाब पाँचौँ स्थानमा छन् ।