राजनीति

बिपी महान् राष्ट्रवादी राजनीतिज्ञ–देउवा, बिपी अन्तर्राष्ट्रिय व्यक्तित्व–डा कोइराला

१६ असार, काठमाडौं । जननायक बिपी कोइराला मेमोरियल ट्रष्टका अग्रसरतामा काठमाडौँको विशालनगर हाँडीगाउँमा ‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वाग्मती प्रदेश सरकार र काठमाडौँ महानगरपालिकाका सहयोगमा रु नौ करोड लागतमा बन्ने अनुसन्धान केन्द्रको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शिलान्यास गरे ।

सो अवसरमा सभापति देउवाले पार्टीका संस्थापक नेता बिपीबारे अनुसन्धान गर्ने स्थान निर्माणपछि अनुसन्धानका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । “बिपीबारे अनुसन्धान गर्ने केन्द्र गिरिजाबाबु, सुशील कोइराला र आफू प्रधानमन्त्री हुँदा बनाउन चाहे पनि विभिन्न समस्याले गर्दा बनाउन सकिएन”, उनले भने ।

सभापति देउवाले बिपीजस्तो महान् राष्ट्रवादी राजनीतिज्ञको योगदानको कदर गर्दै केन्द्र स्थापनामा ट्रष्टले गरेको अगुवाइको उच्च मूल्याङ्कन गरे । पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले बिपी अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताए । “भर्खरै निर्माण हुन लागेको केन्द्र देशभित्र व्यक्ति मात्र नभएर विदेशी व्यक्तिका लागि पनि अध्ययन केन्द्र बन्नेछ”, उनले भने ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बिपी जस्तो आदर्शपुरुषबारे अध्ययन तथा अनुसन्धान गर्ने केन्द्र आफू प्रमुख हुँदा बनाउन पाएकामा गौरवान्वित भएको बताए । निर्माण हुन लागेको रिसर्च सेन्टरलाई महानगरपालिकाले आफ्नो महत्वपूर्णमध्येको एक कार्य ठानेको उनले बताए । आगामी दिनमा पनि महानगरपालिकाले यस्ता कार्यलाई सहयोग गर्ने उनको भनाइ थियो ।

ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले केन्द्र स्थापनासँगै विद्यार्थीलाई बिपीको राजनीतिक, साहित्यिक पक्षबारे खोज,अनुसन्धान तथा विद्यावारिधिमा सहयोग पुग्ने बताए । बिपी नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत थिए ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त केन्द्रको स्थापनाका लागि चालु आवमा संस्कृति मन्त्रालयले रु ५० लाख र कामपाले रु दुई करोड बजेट विनियोजन गरेको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले राससलाई जानकारी दिए । नयाँ बन्ने साततले भवनको निर्माणको सम्पूर्ण जिम्मेवारी कामपाले लिएको छ ।