२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला गिरिजाप्रसाद कोइरालामा दृढ इच्छाशक्ति भएको बताएका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९८औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आईतबार यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला स् प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले शान्ति प्रक्रियाका नायक गिरिजाबाबुमा दृढ इच्छाशक्ति भएको बताए ।
नेता डा कोइरालाले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता गिरिजाबाबु भएको उल्लेख गरे । पार्टीलाई सशस्त्र क्रान्तिका लागि पैसा आवश्यक परेर विमान अपहरण गर्न गिरिजाबाबु बाध्य भएको उनको भनाइ थियो । गिरिजाबाबु पार्टीको कुशल सङ्गठनकर्ता भएको नेता कोइरालाले बताए । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले नेपाली राजनीतिमा गिरिजाबाबुको अभाव खड्किएको बताए । गिरिजाबाबुले देखेको जनप्रतिनिधीमार्फत संविधान लेख्ने सपना स्व सुशील कोइरालाको नेतृत्वमा सम्भव भएको उनको भनाइ थियो ।





