८ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बसीरहेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसीरहेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारेमा जानकारी लिनुका साथै पार्टीको आगामी १४औँ महाधिवेशनका बारेमा छलफल भईरहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक अहिले बिहान ९ः०० बजेदेखी बसिरहेको छ । कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि यही साउन १२ गतेदेखि वडा तहको निर्वाचन गर्ने मिति तय गरेको छ । पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ ।





