राजनीति

कांग्रेस पदाधिकारी र निर्वाचन समितिका अधिकारीको बैठक सिंहदरबारमा बस्दै

९ कार्तिक, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय निर्वाचन समितिका अधिकारीहरूबीच १४ औँ महाधिवेशन केन्द्रित बैठक बस्दै छ । आज दिउँसो ३ बजे बस्ने गरी पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज बस्ने बैठकमा छठ अगावै बाँकी रहेका जिल्लाहरूमा तल्ला तहको अधिवेशन प्रक्रिया सुरु गर्ने विषयमा छलफल हुने भएको छ ।

पार्टी नेतृत्वसँग बसेर सहमति जुटाउन सके मिति तोकिने उनले बताएका छन् । सचिव श्रेष्ठका अनुसार निर्वाचन समितिको सोमबार बसेको बैठकले १३ जिल्लामा छठअगावै अधिवेशन गर्ने निर्णय गरेको थियो । जसका लागि नेतृत्वसँग छलफल गरेर अन्तिम रूप दिने तयारी छ ।

१४औँ महाधिवेशनअन्तर्गत गएको भदौ १८ गतेदेखि वडा अधिवेशनको थालनी गरिएको थियो । हालसम्म ६४ जिल्लाको वडा तहको अधिवेशन सम्पन्न गरिएको छ । यस्तै, ४६ जिल्लाको पालिका तहसम्मको अधिवेशन सम्पन्न भएको छ ।