बाग्मती

ओलीलाई अर्काे झट्का, एमालेले गुमायो तेस्रो मुख्यमन्त्रीः शाक्यले दिईन राजीनामा

काठमाडौं १० कार्तिक । प्रदेशसभाको पहिलो निर्वाचनपछि सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको नेकपा एमालेले एउटा बाहेक अब सबै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । एमालले आज फेरी बाग्मती प्रदेशमा मुख्यमन्त्री गुमाएको छ ।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसंगै अब एमालेसंग प्रदेश नम्बर १ को मुख्यमन्त्री पदमात्रै बचेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । वाग्मती प्रदेशमा आफ्नो सरकार गुमाएसँगै एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ मा मात्रै बाँकी छ । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् ।

प्रदेशसभामा सम्बोधन गर्दै उनले प्रदेशको समृद्धिका लागि प्रतिपक्षीको भूमिकामा रहेर पनि रचनात्मक काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले छोटो समयमा उल्लेख्य काम गर्न सक्ने भए पनि आफूले काम गर्न नपाएको भन्दै समाजवाद उन्मुख कार्यक्रमको खाका आफूले ल्याएको बताएकी छिन् । उनले आज नै प्रदेशको समाजवादउन्मुख कार्यक्रमको खाका सार्वजनिक गरेकी छिन् ।

प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिसके पनि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् । मुख्यमन्त्री शाक्यले मन्त्री तथा सांसदहरुसँग मतविभाजनको प्रक्रियामा अगाडि बढ्ने वा राजीनामा दिएर मार्गप्रशस्त गर्ने विषयमा आन्तरिक छलफल गरेकी थिइन् । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलनिकट सांसदहरुले प्रक्रिया अगाडि बढ्नुपर्ने बताए पनि शाक्य निकट सांसदले राजीनामा दिन सुझाएका थिए ।

अब भने नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ । विपक्षी गठबन्धनको पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । वाग्मतीमा नेकपा (एस) र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । वाग्मती प्रदेशको सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् ।