राजनीति

नेपालको एकीकृत समाजवादीले टुङ्ग्यायो ३३५ नेताको कार्यविभाजन

काठमाडौं कात्तिक १० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३३५ जना नेताको कार्यविभाजन टुंगो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गत असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते बसेको स्थायी कमिटीको सातौं बैठकको निर्णय अनुसार नेताहरुको कार्यविभाजन गरिएको हो ।

सो पार्टीले नेताहरुको कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनहरुलाई जानकारी गराएको छ । अन्तरपार्टी निर्देशनमा सो पार्टीले तात्कालिक कार्ययोजना– २०७८ र बैठकले पारित गरेका २४ बुँदे तात्कालिक कार्ययोजना समेत देशभरका पार्टी कमिटी तथा संगठनहरुलाई पठाइएको छ ।

उक्त कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ । त्यस अन्तर्गत जनसंगठनका कमिटी पनि पर्दछ । सोही अभियानअन्तर्गत ‘एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिने छ ।

एकीकृत समाजवादीले विविध कारणले पार्टीमा सनाखत गरी आउन असमर्थ देखिएका जनप्रतिनिधिहरूलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत वातावरण निर्माण गर्न पहल गर्नेसहितका विषय तात्कालिक कार्ययोजना बनाएको छ ।