राजनीति

कांग्रेसका १२ नेताहरुले भनेः न्यायालय शुद्धीकरणको जारी संघर्षमा साथ दिऔं

१२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका १२ जना नेताहरूले न्यायालयको स्वतन्त्रता र गरिमा जोगाउन लागि भइरहेको संघर्षमा साथ दिनुपर्ने बताएका छन् । कांग्रेसका युवा नेताहरूले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेर न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व भएको बताएका छन ।

कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले न्यायालयको शुद्धीकरणको अभियानमा साथ दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेका  हुन । स्वतन्त्र न्यायपालिकाविना कांग्रेसले विश्वास गरेको उदार लोकतन्त्र संरक्षण सम्भव नभएको पनि उनीहरुले बताएका छन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारमा भाग खोजेर न्यायिक स्वतन्त्रता र न्यायलयको गरिमामा आँच आउने काम गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन । त्यसबाहेक, नेपाल बार एसोशिएसनका वकिलहरूले पनि प्रधानन्याधीशको राजीनामा माग गर्दै आएका छन । प्रधानन्यायाधीश जबराले भने अन्य न्यायाधीशले राजीनामा नदिए आँफुले पनि राजीनामा नदिने बताउँदै आएका छन ।

साथै उनिहरुले विगतमा न्यायलयसंग सम्बन्धित कानूनी र अभ्यासगत रुपमा भए गरेका काम कारवाहीबाट सिक्दै न्यायप्रणालीको संस्थागत विकास, न्यायपालिकाको निश्पक्षता र स्वतन्त्रताका खातिर दीर्घकालिन समाधान खोज्नको लागि नेतृत्वदायी भुमिका पनि नेपाली कांग्रेसले लिनुपर्नेमा जोड दिएका छन् ।

न्यायपालिकाको निश्पक्षता र स्वतन्त्रताका लागि आज देखिएको समस्या हल गरेर मात्र नपुग्ने भन्दै उनिहरुले न्यायपालिकाको निश्पक्षताका लागि संविधान, कानून, नियत, अभ्यास, शैली र प्रकृया सवैमा गम्भिर विमर्श गर्दै उपयुक्त निर्णयको खाँचो रहेको बताएका छन् ।