१८ कार्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एमसीसीबारे राष्ट्रघाती सम्झौता सार्वजनिक गर्न माग गरेका छन् ।
बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गरेको भन्दै रावलले राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गर्न माग गरेका हुन् । सामाजिक सञ्जाल ट्वीट माफर्त रावलले यस्तो विषयमा गोप्य पत्राचार देशघात भएको समेत बताएका छन् ।
एमसिसीका उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा एमसिसी कहिले पास हुन्छ भन्ने प्रश्नमा आफुले गठबन्धनसमक्ष छलफल गरेर छिट्टै प्रक्रिया पुर्याएर निष्कर्षमा पुग्छौँ र आफुहरुले हस्ताक्षर गरेरै पठाएको पत्रमा प्रचण्डले पनि हस्ताक्षर गर्नुभएको छ भनेर जवाफ देउवाले दिएको बताएका थिए । साथै डा. रावलले प्रचण्डको पत्र के हैसियतले पठाइयो ? भन्दै प्रश्न समेत गरेका छन् ।






