प्रकाश तिरुवा / व्यवस्था परिवर्तनका कुरा गर्दा सबैभन्दा सम्झिने पहिलो नाम हो लौहपुरुष वा उनै गणेशमान सिंह। नेपाली राजनीतिको दुनियामा सायत त्याग, समर्पण र निष्ठाको जिवनत उदाहरण पाइन्छ भने त्यो गणेशमान सिंहमा पाउन सकिन्छ। सर्वोच्च नेताका रुपमा स्वीकारीएका महामानव गेणमान सिंह सायत इतिहासमा मात्र भेट्न सकिन्छ अहिलेको राजनीतिक दुनियाँमा।
नेपाली राजनीतिक इतिहासमा सर्वाधिक लोकप्रिय र सबैले श्रद्धा गर्ने पात्र विशेष खोज्दा वहाँको नाम अग्रपङ्क्तिमा आउँछ। वि।सं। १९७२ कात्तिक २४ गतेका दिन काठमाडौंको भोटाहिटीमा जन्मिएका सिंह र विपी मा खासै उमेरका हिसाबले त्यति ठुलो अन्तर छैन। त्यसैले बिपी र गणेशमान समकालीन थिए । कुनै पनि विषयको निर्णय लिने कुरामा बिपीको निर्णयात्मक खुबी थियो भने गणेशमानमा चाहिँ अडान लिने खुबी थियो । यी दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भयो । त्यतिमात्र हैन, २०१५ सालको प्रथम आमनिर्वाचनमा दुई तिहाई मतसमेत ल्याउन सक्यो । २०४८ सालको दोस्रो आमनिवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत ल्याएको थियो ।
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युग पुरुषको उपनामले पुकारिएजस्तै अर्का नेता गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले पुकारिन्छ । त्यतिमात्र होइन, बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम हीराकाजी थियो । जेठा दाजु मातृकाप्रसाद कोइरालालाई ठुल्दाजु भनिएकाले भाइ बिपीलाई सान्दाजु भनिएको हो । त्यसैगरी जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नातिलाई बडाकाजी परिवारको अत्यन्त महत्वपूर्ण निधि मानेर हीरा भन्ने गरिएको र बडाकाजी परिवारमा जन्मेकाले काजी भन्ने गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिन्थ्यो ।
गणेशमान ८ वर्षको हुँदा उनका पिता ज्ञानमान सिंहको २८ वर्षको उमेरमा मृत्यु भएको थियो । त्यसबेला उनको आमाको उमेर २४ मात्र थियो । पिता मृत्यु शैयामा भएकै अवस्थामा कान्छा छोरा वासुदेवको जन्म भएको थियो तर नवजात पुत्रको न्वारान नहुँदै ज्ञानमानको मृत्यु भएको थियो । काठमाडौंको रानीपोखरीस्थित दरवार स्कुल राणहरुका छोराछोरीलाई मात्र पढ्न भनेर बनाइएको भए तापनि गणेशमान काजी रत्नमानको नाति सुब्बा ज्ञानमानको छोरा भएका कारण पढ्ने मौका पाएका थिए । तर ६ कक्षामा पढ्दै गरेको समयमा आफ्नै कक्षामा पढ्ने राणाको छोरालाई त“ त“ र म म भन्दै झगडा गरेका कारण उनलाई निष्कासित गरियो । त्यसपछि राणप्रति गणेशमान नकारात्मक बन्न थाले ।
पिताको मृत्युपछि टुहुरो भएका गणेशमान स्कुलबाट पनि निष्कासित भएकाले बरालिएर हिँड्न थाले । त्यसपछि बाजे काजी रत्नमानले भनसुन गरेर कमान्डर–इन–चिफ रुद्रशमशेर राणाको दरवारमा रहेको मुलुकी अड्डामा बहिदारको नोकरी लगाइदिएका थिए । यसो गर्दा बरालिएर हिँड्न नपाइने, काम पनि सिकिने तथा राणाहरुस“ग सम्बन्ध राम्रो हुने सोचाइ रत्नमानको थियो । तिनताका काठमाडौंमा हुनेखानेले मात्र साइकल चढ्न पाउँथे ।
साइकलमा घन्टी र बत्ती अनिवार्य थियो । एकदिन गणेशमान घन्टी र बत्ती दुवै नभएको साइकल चढेर अफिस गए । यो देखेपछि अफिसको ढोकामा बसेका सुरक्षाकर्मीले रोके । यस क्रममा दुवैबीच भनाभनमात्र हैन, कुटाकुटै भयो । यो कुराको उजुरी दरवारमा पुग्यो र महाराजा पद्मशमशेरले गणेशमानको साइकल उनैलाई फिर्ता गरिदिने र सुरक्षाकर्मीलाई हातपात गरेवापत चार पटक कान समातेर उठबस गर्ने सजाय सुनाए । यही विषयलाई निहु“ बनाएर गणेशमानले नोकरी छोडिदिए । यो घटनापछि गणेशमान झनै राणाप्रति नकारात्मक बन्न थाले । यतिमात्र हैन, त्यसपछि उनी हरेक क्षणमा राणा विरोधी काममा संलग्न भए ।
राणाहरुको एकतन्त्रीय शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने चाहनाले वि।सं। १९९३ सालको जेठ २० गते अत्यन्त गोप्यरूपले काठमाडौंको ओमबहाल टोलका धर्मभक्त माथेमाको घरमा प्रजापरिषद् स्थापना गरिएको थियो । यसका संस्थापक सदस्यमा धर्मभक्त माथेमा, टङ्कप्रसाद आचार्य, दशरथ चन्द, जीवराज शर्मा र रामहरि शर्मा थिए । वि।सं। १९९७ सालको भाद्र १८ गतेदेखि यस सङ्गठनका अध्यक्ष टङ्कप्रसाद आचार्य भएका थिए ।
नेपाल प्रजापरिषद्को लक्ष्य पनि नेपालबाट राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने भन्ने भएको र गणेशमान पनि राणा गतिविधिबाट रुष्ट भएकाले कलकत्तामा आपूm पढ्दै गरेको आइएससीको पढाइ छाडेर काठमाडौंमा आई वि।सं। १९९६ सालदेखि अर्थात् २४ वर्षको उमेरदेखि नेपाल प्रजापरिषद्को सदस्य भई राजनीतिमा सक्रिय भए । नेपाल प्रजापरिषद्को सदस्य भएको १ महिनाभित्रैमा गणेशमानको मङ्गलादेवीस“ग विवाह भयो । त्यसको ३–४ महिनापछि वि।सं। १९९७ सालमा राणा विरोधी गतिविधिमा सक्रिय भएका कारण उनलाई सर्वश्वसहित आजीवन कारावासको सजाय तोकियो । यसरी जेल परेका गणेशमानले ४ वर्ष त्यहीँ बिताए । अनि वि।सं। २००१ सालको असार ७ गते १२ फिट अग्लो भद्रगोलको पर्खाल नाघेर भाग्न सफल भए । यस कार्यबाट गणेशमानले ‘वीर’ को प्रख्याति पाएका थिए ।
गणेशमान सिंहसँगै जेल सजाय पाएका प्रजापरिषद्का सदस्य गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई गोली हानेर र रुखमा झुण्ड्याएर मृत्युदण्डको सजाय दिइयो तर टङ्कप्रसाद आचार्य र रामहरि शर्मा भने ब्राह्मण भएकाले र गणेशमानचाहिँ काजी रत्नमानका सन्तान भएकाले मृत्युदण्डबाट जोगिए । नेपालमा प्रजातन्त्र स्थापना गर्नुपर्छ भन्ने अभिप्रायले भारतको वनारसबाट बिपीको सत्प्रयासले नेपाली कांग्रेस पार्टीको जन्म भयो । नेपाल प्रजापरिषदका सदस्य पनि यही दलमा आबद्ध भई क्रान्ति गर्न थाले । यसरी क्रान्ति गर्ने सिलसिलामा तराईका विभिन्न भागमा मोर्चाबन्दीमा लागेका गणेशमानलाई २००६–२००७ साल तिर तराईकै ठोरीको जङ्गलबाट पक्रेर ल्याई राणा सरकारले केरकार गर्न लाग्दा न्यायाधीश हरिशमशेर राणालाई महाराजा भनेर सम्बोधन गर्नुको सट्टा त“ भन्ने शब्द प्रयोग गरेकाले १ हजार पटक वेतको लठ्ठीले हिर्काउने सजाय दिए । ६ सय पटकसम्म हिर्काउँदा गणेशमानले सहे । त्यसपछि भने मुर्छा परे । त्यसैबेलादेखि हो– गणेशमान सिंहलाई लौहपुरुष उपनामले सम्बोधन गर्न थालिएको।
२०१५ सालको आमनिर्वाचनमा गणेशमान सिंह कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठलाई पराजित गरी विजय भए । त्यसपछि बनेको एकमना नेपाली कांग्रेसको मन्त्रिपरिषद्मा गणेशमान मन्त्री भए । मन्त्री भएपछि बधाई दिन जाने काठमाडौंबासीसँग गणेशमानले आफु चुनावमा विजय भएर मन्त्री भएकामा समेत सन्तोष नभएकाले अरुको बधाईको आवश्यक्ता नभएको बताएर सबैलाई आश्चर्यमा पारिदिएका थिए । उनले १२,००० मात्र मत प्राप्त गरेका तर अरु पार्टीका उमेदवारको सबै मत जोड्दा १८,००० पुग्थ्यो । त्यसैले काठमाडौंंका मतदाताले आफूलाई पूर्णरूपले मान्यता नदिएको उनको संकेत थियो त्यो । त्यतिमात्र होइन, बाँकी जीवनमा प्रजातन्त्रका लागि लड्ने तर पदका लागि चुनाव नलड्ने उद्घघोष समेत गरेका थिए । त्यसै उद्घोषलाई मान्यता दिएर होला, २०४६ सालको ऐतिहासिक सफलतापछि राजाबाट अन्तरिम सरकारको प्रधानमन्त्री बन्न भन्दा पनि मानेनन् ।
राणा, कम्युनिष्ट र पंचायतसँग नथाकेका उनै लौहपुरुषको पार्टी हाल समूह(समूहमा विभक्त छ। त्यागि र सन्त नेताका अनुयायी पदका लागि मरिहत्ते गरिरहेका छन्। तसर्थ अनुयायीहरूले बाटो बिराए भन्ने भान सायत लोकलाजमा छताछुल्ल देखिन्छ। यो कुरा कांग्रेसको वर्तमान नेतृत्व र स्वयम नेतृत्वका लागि तयार भएका अन्यले समेत मनन गरेको पाइदैंन।
पद प्राप्तिका लागि मरिमेट्ने जमानामा गणेशमान सिंहले राजाबाटै प्रधान मन्त्रीको पद प्रदान हुँदा पनि आफु प्रधानमन्त्री नबनी अरुलाई उक्त पद सुम्पनु गणेशमानको ठूलो राजनीतिक उदारता, विशेषता र अनुकरणीय उदाहरण हो । गणेशमानका अनुयायीले उनको यो कदमको अनुकरण गरेमा बल्ल गणेशमानको सच्चा अनुयायी भएको सुहाउँने छ। यही उनको जन्मजयन्तीको अवसरमा सम्झने विशेषता पनि हो ।
अन्त्यमा गणेशमान सिंहको पद छाप नछाड्ने हो भने एकातिर कांग्रेस समुन्नत र सफल हुनेछ भने अर्कातिर मुलुकले विकास र निकासको महसुस गर्नेछ। एकाध बाहेक अन्यले खासै आफ्ना आदर्शलाई इनकार गरेको देखीन्छ। तसर्थ सर्वोच्च नेता सिंहले अनुसरण गरेको मार्ग अनुसरण गरेमा सच्चा अनुयायी र वहाँ प्रतिको श्रद्धा जिवन्त राख्न सकिनेछ र वहाँ प्रतिको श्रद्धा सदासर्वदा रहिरहन्छ। यही नै वहाँको जन्मजयन्तीको उपलक्ष्यमा सम्झिने एउटा माध्यम हो।





