पत्रपत्रिका

कांग्रेस महाधिवेशनः मतगणना स्थलमा गोली चल्यो, दुई प्रहरीसहित ७ घाइते

७ मंसिर, प्यूठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।

मतपरिणममा असन्तुष्टि जनाउँदै युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको छ ।

मंगलबार राति मतगणना भइरहँदा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देविप्रसाद गैरेले जानकारी दिए । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । स्थिती समान्य रहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । ६५ मत गणना गर्न बाँकी हुँदा उक्त घटना भएको उनले बताए ।

निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल सभापतिका उम्मेद्वार रहेका छन् । पौडेल-सिटौला पक्षबाट विष्णुकुमार गिरी मैदानमा छन् । यो समाचार तयार पार्दा सम्म जिल्ला सभापति पदका लागि खसेको कूल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन् । गिरी पक्षका विजयी घोषणा गरी खुशी मनाइरहेका छन् भने रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेका छन् । इकान्तिपुरमा समाचार छ